उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौंः माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी उच्च मनोबलका साथ स्थानीय निर्वाचनमा होमिएको बताएका छन्।
स्थानीय तह निर्वाचनको सन्दर्भमा शनिबार भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो पार्टी ३० वैशाखको चुनावमा उच्च मनोबलका साथ होमिएको बताएका हुन्। भिडियोमा उनले भनेका छन्, “नेपालको राजनीतिमा उदाएको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) उच्च मनोवलका साथ निर्वाचनको महाअभियानमा होमिएको छ।”
पूर्व प्रधानमन्त्री नेपालले कार्यकर्तालाई एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुपर्ने कारण सहित जनतामा जान निर्देशन दिएका छन्। उनले भने, “तथ्य र प्रमाण पस्किसकेपछि विपक्षीले केही पनि बोल्न सक्दैन, विरोधीले लगाउने झुठा आरोपको चोटिलो जवाफ दिनुस्।”
एकीकृत समाजवादी पार्टी व्यक्ति केन्द्रित होइन विधि र पद्धति केन्द्रित भएको अध्यक्ष नेपालको भनाइ छ।