भोलिसम्म तालमेलको टुङ्गो लाग्छ: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारसम्म सत्ता साझेदार दलबीच निर्वाचनमा तालमेलको टुङ्गो लाग्ने बताएका छन्।
भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आज साँझसम्म तालमेलको खाका तयार हुने बताए। दाहालले भने, “आज बेलुकासम्म सिफारिश गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्म एउटा टुङ्गोमा पुग्छौं।”
निर्वाचनका समयमा एउटै पार्टीभित्र समेत विवाद र बहस हुने जनाउँदै उनले पाँच दलबीच सहमतिमा आउन समय लाग्नु स्वभाविक भएको बताए।
भरतपुर महानगरपालिकाको मेयरका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष दाहालले छलफल भइरहेको बताए। “केही समस्या हुँदैन, सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ,” दाहालले भने।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो। सबै विषय सहमतिमै टुङ्गिने उनले बताए।