तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन
भारतको तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको २० मंसिर राती उपचारका क्रममा निधन भएको छ।
१९ मंसिर राति हृदयघातका कारण गम्भीर अवस्थामा पुगेकी मुख्यमन्त्री जय ललिताको २० मंसिर राती साढे ११ बजे मृत्य भएको चेन्नाईस्थित अपोलो अस्पतालले जनाएको छ।
६८ वर्षीया जय ललितालाई गत तीन महिनादेखि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। १९ मंसिर राति हृदयघात भएर अवस्था गम्भीर भएपछि सघन उपचार कक्षमा सारिकी मुख्यमन्त्री जयललिताको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल परिसरमा हजारौं मानिसहरु भेला भएका थिए ।
मध्यरातमा उनको मृत्युको घोषणा भएसँगै दक्षिणी राज्य तमिलनाडुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। उनका कट्टर समर्थकहरुले त्यहाँ अशान्ति मच्चाउन सक्ने खतरा रहेको भन्दै थप प्रहरीहरु परिचालन गरिएको छ।
जयललिताका सबैभन्दा नजिक मानिने पनीरसेल्वमलाई तमिलनाडुको नयाँ मुख्यमन्त्रीमा राति नै नियुक्त गरिएको छ। जनतामाझ निकै चर्चित रहेकी जय ललिताले दक्षिण भारतीय चलचित्रहरुमा अभिनय पनि गरेकी थिइन्। उनका परिचितहरुले उनी वकिल बन्न चाहेको तर भाग्यले उनलाई पहिला अभिनयतिर र पछि राजनीतिमा धकेलेको बताउँन्।
तर यी दुवै क्षेत्रमा उनको यात्रा सहज थिएन। १ सय ४० वटा चलचित्रमा अभिनय गरेकी उनले ८ पटक विधानसभाको चुनावमा लडेकी थिइन्। त्यस्तै एकपटक राज्यसभामा मनोनित भएकी उनी तमिलनाडुमा ४ पटक मुख्यमन्त्री बनिन्।
जय ललितालाई धेरैले श्रद्धा गर्ने भए पनि उनका आलोचकहरुले भने उनमा घमण्डीपना भएको बताउँथे। सन् २०१४ मा जय ललितालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो तर पछि उनले सफाइ पाएपछि उनी मुख्यमन्त्रीकै रुपमा फर्किएकी थिइन्। (बीबीसी)