राजनीतिक संस्कृतिका लागि चुनावी तालमेल हितकर छैन, तर पार्टीको निर्णय मान्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका छन्।
नयाँ वर्षको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीले निर्णय गरिसकेपछि सबैले मान्नुपर्ने बताएका हुन्। “चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर छैन भन्ने मेरो मत हो,” थापाले भने, “मेरो मत मैले पार्टीमा राखें, तर पार्टीका बहुमत साथीहरूले गठबन्धन जरुरी छ भनेपछि पार्टीको निर्णय मैले मानेको छु। मान्नु पनि पर्छ।”
चुनावी तालमेल गर्नका लागि माथिबाट दबाब नदिइने बताए। स्थानीय तहले नै आवश्यक भएको ठाउँमा तालमेल गर्ने र आवश्यक नभएका ठाउँमा एक्लै लड्न सक्ने बताए। “कुन स्थानीय तहमा कसरी तालमेल गर्ने वा नगर्ने भन्ने विषय पार्टीको सम्बन्धित तहको क्षेत्राधिकार हुन्छ। सहमति भए जति ठाउँमा तालमेल हुन्छ र सहमति नभएका ठाउँमा आ-आफ्ना उम्मेदवार उठाउनुपर्छ,” उनले भने।
तालमेलका लागि केन्द्रबाट निर्णय थोपर्न नहुने उनको भनाइ थियो। “गठबन्धनको संयन्त्रमा देशैभरि अहिले छलफल चलिरहेको छ। छलफल चल्छ, कुराकानी मिल्यो तालमेल हुन्छ। कुराकानी मिलेन तालमेल हुँदैन,” कांग्रेस महामन्त्री थापाले भने, “कुराकानी मिलेन भने आफू-आफू लड्न मिल्छ, लड्न पाउनुपर्छ। तल कुरा नमिले पनि केन्द्रबाट निर्णय थोपर्नु हुँदैन।”
सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन्। त्यसका लागि पाँच दलीय संयन्त्र मार्फत जानकारी पठाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।