राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर चुनाव लड्ने
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा सूर्य चिह्न लिएर लड्ने भएका छन्।
यस विषयमा नेकपा (एमाले) र राप्रपा नेपालबीच सहमति भएको छ। दुवै पार्टीले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्।
दुवै पार्टीबीच चुनावी तालमेलका विषयमा पाँचबुँदे सहमति भएको छ। बुधबार भएको सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुवै पार्टीबीच भएको सहमतिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने।’
एमाले र राप्रपा नेपालबीच देशभरिका स्थानीय तहमा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवार नभएको ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ।
यसका लागि जिल्ला कार्यसमितिलाई प्रस्ताव तयार गर्न भनिएको छ। जिल्ला कमिटीले पठाएको प्रस्तावमा केन्द्रबाट अनुमति दिएपछि कार्यान्वयन हुने उल्लेख छ।
