यस्तो छ गठबन्धनको चुनावी तालमेलको आधार
सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात वटा आधार तय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सीट बाँडफाँड गर्ने विषयमा पनि सहमति गरेको छ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर सीटको बाँडफाँड गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने तय गरेको छ।
त्यस्तै, नगरपालिकाको मेयर र उपमेयर तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सीट बाँडफाँड जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिश गर्ने भएको छ। प्रदेशले ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सबै तहका वडाध्यक्ष र सदस्यको सीट बाँडफाँड भने जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र टुङ्गो लगाउने गठबन्धनले निर्णय गरेको छ।
त्यस्तै, २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने निर्णय गरेको छ। यससँगै गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभारका आधारमा सीट तय गरिने भएको छ।
यसै गरी स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथाशक्य गठबन्धनमा सहभागी लगायत आधार पनि मान्ने बैठकको निर्णय छ।