अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्।
सोमबार कुश्मामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले अब स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा दुविधा नरहेको बताए। २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा पनि त्यहिअनुसार सहमति हुने उनको भनाइ थियो।
एकीकृत समाजवादीको अवस्थाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले आगामी स्थानीय तहको चुनावले आफ्नो पार्टीको अवस्थाबारे सबैलाई प्रष्ट हुने बताए। नेकपा (एमाले) त्यागेर एकीकृत समाजवादीमा आउने क्रम तीव्र रहेकाले आउँदो निर्वाचनले समाजवादी बलियो रहेको उनको भनाइ थियो।
अहिले स्थानीय तहका उम्मेदवार छनोटको तरिका तय गर्न गठबन्धनमा लगातार छलफल भइरहेको उनले बताए। स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्मै गठबन्धन कायम रहने उनको दाबी थियो।
नेपालले भने, “गठबन्धनलाई लम्ब्याएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि साझा उम्मेदवार कायम गरिन्छ।”
मुलुकको अर्थतन्त्रबारे सोधिएको प्रश्नमा उनले साझा रुपमा काम गरिने बताए। अर्थतन्त्रमा देखिएको समस्याबारे सबै राजनीतिक दल बसेर साझा समस्याका रूपमा लिनुपर्ने र छलफल गरेर समाधानको बाटो तय गरिने उनले बताए।