एकीकृत समाजवादीले यसरी गर्दै छ उम्मेदवार छनोट
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।
एकीकृत समाजवादीको २६ र २७ चैतमा बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ। जसमा एक हजार १११ सदस्य रहेको महासचिव बेदुराम भुसालले जानकारी दिए।
त्यस्तै, बैठकले महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ। जसमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन्।
यससँगै एकीकृत समाजवादीको सचिवालय बैठकले उम्मेदवार छनोटको मापदण्ड तोकेको छ। जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवी भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने हुनुपर्ने उल्लेख छ।
त्यस्तै, वडा सदस्यको लागि वडा कमिटीको सिफारिशमा पालिका कमिटीले निर्णय गर्ने, वडाध्यक्षको लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिशमा जिल्ला कमिटीले निर्णय तय गरेको छ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको लागि पालिका कमिटी र जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले निर्णय गर्ने व्यवस्था गरेको छ। महानगरपालिका र उपमहानगरका प्रमुख र उपप्रमुखको लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले निर्णय गर्ने भएको छ।
यसका लागि वडा कमिटीले ३० चैतभित्र, पालिका कमिटीले २ वैशाखभित्र निर्णय र सिफारिश गरिसक्न निर्देशन दिएको छ। त्यस्तै, जिल्ला कमिटीले ४ वैशाखभित्र, प्रदेश कमिटीले ६ वैसाखभित्र र केन्द्रीय कमिटीले ८ वैशाखभित्र निर्णय गरिसक्ने तय गरेको छ।