एमालेमा १० भाइ र दिदीको विजोग छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा नआएका नेताहरूको अहिले नेकपा (एमाले)मा विजोग भइरहेको बताएका छन्।
शनिबार एकीकृत समाजवादीको काठमाडौं–दोलखा सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेमा अध्यक्ष केपी शर्मा ओली बाहेक अरूले बोल्नै नपाइने गरेको जिकिर गरे। “मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ। बोली हाल्यो भने कारबाहीको सिकार हुनुपर्ने डर छ,” नेपालले भने, “चुप लाग्नुस् भनेपछि चुप लाग्यो, निस्किनुस् भन्यो भने निस्कियो। कोही बोल्न खोज्यो कि स्याल हुँइया, साइबर स्यालले कराउथे।”
एमाले अध्यक्ष ओलीको प्रतिगामी कदमविरुद्ध आवाज उठाउने ११ जना नेताको अहिले विजोग भइरहेको नेपालको भनाइ थियो। “दश भाइको कस्तो विजोग छ। दश भाइसँगै एउटा दिदी पनि हुनुहुन्छ,” नेपालले थपे, “एमालेमा सबैको विजोग छ।”
एमाले नेता भीम रावल, घनश्याम भुसाल सहित १० जनाले नेताले अध्यक्ष ओलीका क्रियाकलापको विरोध गर्दा नेपाललाई साथ दिएका थिए। त्यस्तै, नेत्री अष्टलक्ष्मी शाक्यले पनि नेपालकै पक्षमा थिइन्।
नेपालले एकीकृत समाजवादी गठन गर्दा उनीहरू एमालेमै बसेका थिए। उनीहरूलाई नै नेपालले दश भाइ र दिदीको संकेत गरेका हुन्।
अध्यक्ष नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई आगामी स्थानीय चुनावमा आवश्यकताका आधारमा योजना बनाउन निर्देशन दिए। उनले एमाले अध्यक्ष ओलीले पानी जहाजको हावादारी गफ दिएको स्मरण गर्दै भने, “पानी जहाज हिन्द महासागरमा डुबी सकेको छ। त्यस्ता हावादारी योजना बनाउनु हुँदैन।”
त्यस्तै, भ्यूटावर र गेटका योजना पनि नबनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे। त्यसमा खर्च गर्ने पैसा जनताले प्रत्यक्ष सेवा सुविधा पाउने शिक्षा र स्वास्थ्यमा खर्च गर्ने गरी योजना बनाउन आवश्यक भएको बताए।