कांग्रेस केन्द्रीय समिति बैठकमा अर्थ मन्त्रीको राजीनामा माग
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेताहरूले अर्थ मन्त्री शर्मासँग राजीनामा माग्नुपर्नेमा जोड दिएका हुन्। देशको अर्थतन्त्र ओरालो लागिरहेकाले सत्तारूढ गठबन्धनको बैठकमा छलफल गरेर निकास दिनुपर्नेमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
आइतबारको बैठकमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थ मन्त्री शर्माको राजीनामा गर्नुपर्ने विषय उठाएका हुन्। बैठक कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस केन्द्रीय सदस्य स्नेहीले अर्थ मन्त्रीको राजीनामाको विषय उठाएको बताए।
उनले भने, “अर्थ मन्त्री अक्षम भइसक्नुभयो। त्यसैले गठबन्धनभित्र कुरा गरेर प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ या त राजीनामा माग्नुपर्छ भनेर मैले आफ्नो दृष्टिकोण राखेको हुँ।”
यो विषय अन्य केन्द्रीय सदस्यले पनि उठाएको उनको भनाइ थियो। कांग्रेस बैठकमा अर्थविद् र राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारीहरूले लिखित रूपमै प्रधानमन्त्री देउवालाई यस विषयमा जानकारी गराएका छन्।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै अर्थतन्त्रमाथिको सङ्कटको शुरूआत भए पनि अहिले झन् झन् बढ्दै गएको कांग्रेस नेताहरूको भनाइ छ।
“यो बोटको वृक्षरोपण केपी ओलीले गर्नुभएको हो, तर अहिले उत्कर्षमा पुग्यो,” कांग्रेस केन्द्रीय सदस्य स्नेहीले भने, “सत्तामा बसिराख्ने, गठबन्धन गर्ने तर देश टाट पल्टियो भने त्यसको जिम्मेवारी हामीले पनि लिनुपर्छ, कांग्रेसले पनि लिनुपर्छ। त्यसैले प्रधानमन्त्रीसँग समाधान खोज्न आग्रह गरेको हुँ।”