ओलीको प्रश्न- हरियो रङ प्रयोग गरेर रूखलाई झपक्क पार्ने?
निर्वाचन आयोगको मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णयलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँगको साँठगाँठ भनेका छन्।
आइतबार एमालेको स्थायी समिति बैठकको शुरूआतमा बोल्दै हरियो रङ प्रयोग गर्ने निर्णयमा विरोध जनाएका छन्। यसअघि पनि उनले यसको विरोध गरेका थिए। निर्वाचन आयोगले यो प्राविधिक विषय भएको स्पष्टीकरण दिएको थियो।
ओलीले फेरि त्यही विषयमा आपत्ति जनाएका छन्। “निर्वाचन आयोगले हरियो रङ छानेको छ। त्यो एउटा सङ्केत हो,” ओलीले आयोगलाई प्रश्न गरे, “रूखसँग मिल्दो हरियो बनाएर रूख झपक्क पार्ने?”
मतगणना गर्दा सजिलो हुन्छ भन्ने आयोगको भनाइ ठीक नभएको ओलीको जिकिर थियो। “सत्ताधारी दललाई फाइदा पुग्ने गरी रङ निर्धारण गर्यो, परिवर्तन गर्यो। कसैलाई फाइदा पुग्ने गरी गरिएको बिल्कुल बेठीक कुरा हो,” ओलीले भने।
यस विषयमा आयोगले राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा पनि उनले असन्तुष्टि जनाए। “दलहरूसँग परामर्श नगरी रङ बदल्ने कुरा सामान्य हुँदै होइन,” ओलीले भने, “निर्वाचन आयोगले यो निर्णय बदल्नै पर्छ।”
यो सत्ता गठबन्धनसँगको साँठगाँठ भएको ओलीको आरोप छ। उनले प्रश्न गरे, “सत्तापक्षीय फाइदाका लागि निर्वाचन आयोग अनुचित कुरामा अडान लिएर त्रुटि सच्याउन किन तयार हुँदैन?”
त्यस्तै, स्थानीय चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएकोमा पनि एमाले अध्यक्ष ओलीले विरोध जनाएका छन्। आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी दिने समय तोकेको छ।
यसलाई पनि ओलीले सत्ता गठबन्धनसँगको साँठगाँठ भनेका छन्। “मनोनयन दर्ताका लागि कहिल्यै दुई दिन दिइएको थिएन,” उनले भने, “सत्ता गठबन्धनको द्वन्द्व मिलाउनका लागि दुई दिन समय दिइयो। यो सत्ता गठबन्धनसँग निर्वाचन आयोगको साँठगाँठ हो।”
उनले यसको विरोध गर्न स्थायी समिति सदस्यलाई आह्वान गरे। यो निर्णय सच्याउन आयोगलाई दबाब दिनुपर्ने उनको भनाइ थियो।