कांग्रेस बैठकमा ६ प्रदेशका सभापति र २१ केन्द्रीय सदस्यको रिपोर्टिङ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय चुनावमा गठबन्धन आवश्यक भए-नभएको विषयमा ६ वटा प्रदेशका प्रदेश सभापति र २१ जना केन्द्रीय सदस्यले रिपोर्टिङ गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शुक्रबारदेखि शुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरू आआफ्नो प्रदेश र जिम्मेवारी पाएका जिल्लाको रिपोर्टिङ गरेका हुन्। उनीहरूले कतै एक्लै जित्न सकिने त कतै गठबन्धन आवश्यक भएको जिकिर गरेका छन्। एक केन्द्रीय सदस्यका अनुसार, धेरैजसोले आवश्यकता हेरेर गठबन्धन गर्नुपर्ने तर्क गरेका छन्।
केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने रिपोर्टिङ आइरहेको बताए। “अहिलेसम्म बोलेका साथीहरूले सबै ठाउँमा एउटै किसिमको छैन, फरक फरक अवस्था भनेका छन्,” प्रवक्ता महतले भने, “कतै जित्न सकिन्छ, कतै गठबन्धन आवश्यक छ भन्ने धारणा आएको छ।”
पहिलो दिनको बैठकमा प्रदेश १ का सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमतीका सभापति इन्द्रबहादुर बानियाँ, गण्डकीका सभापति शुक्रराज शर्मा, लुम्बिनीका सभापति अमरसिंह पुन र कर्णालीका सभापति ललितजंग शाहीले धारणा राखेका छन्।
कांग्रेसका अर्का केन्द्रीय सदस्यका अनुसार, प्रदेश १, मधेश र लुम्बिनीमा गठबन्धनमा विशेष जोड दिइएको छ। त्यस्तै, गण्डकी र कर्णालीबाट स्थानीय तह अनुसार गठबन्धन गर्नुपर्ने सुझाव आएको छ। बागमतीमा भने मिश्रित धारणा आएको जनाइएको छ। सुदूरपश्चिम प्रदेशका सभापतिले प्रदेशको अवस्थाबारे बोल्न बाँकी छ।
त्यस्तै, केन्द्रीय सदस्यहरू कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना र शान्ति परियारले बोलेका छन्। उनीहरूले पनि आआफ्नो जिम्मेवारी पाएको जिल्लाको अवस्थाबारे जानकारी दिएका छन्।
प्रदेश सभापति र केन्द्रीय सदस्यले गर्ने रिपोर्टिङका आधारमा गठबन्धनका विषयमा निर्णय हुने कांग्रेस प्रवक्ता महतले बताए। “सभापतिले गठबन्धन लाद्ने भन्ने हुँदैन, सहमतिका आधारमा निर्णय हुन्छ,” उनले भने, “सबै ठाउँमा एउटै किसिमको हुँदैन। ठाउँ अनुसार गठबन्धन हुन्छ।”
बैठकको शुरूआतमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा जोड दिएका थिए। उनले धेरै ठाउँमा गठबन्धन नगरी जित्ने अवस्था नरहेको बताएका थिए।
कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक १३ चैत बिहान ११ बजे बस्नेछ।