२०५१ सालका लोकप्रिय कार्यक्रममा केपी ओलीको भूमिका थिएन: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०५१ सालमा अघि सारिएका लोकप्रिय कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको कुनै भूमिका नभएको बताएका छन्।
काठमाडौंमा शुक्रबार बृहत् महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यति वेलाका सामाजिक सुरक्षाका कार्यक्रम आफूहरूले ल्याएको बताए। एमाले अध्यक्ष ओलीले आगामी स्थानीय चुनावमा एमाले नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई अघि सारेर जनतामा जान निर्देशन दिएपछि नेपालले जवाफ दिएका हुन्।
“२०५१ सालको सरकारमा वृद्धवृद्धालाई भत्ताको व्यवस्था मनमोहन अधिकारी, भरतमोहन अधिकारी र मैले गरेका हौं,” नेपालले भने, “केपी ओलीको कुनै भूमिका थिएन।”
मनमोहन अधिकार नेतृत्वको सरकारमा नेपाल उपप्रधान तथा परराष्ट्र मन्त्री थिए। अधिकारी नेतृत्वको सरकारमा ओली गृह मन्त्री थिए।
त्यति वेलाका लोकप्रिय अन्य कार्यक्रममा पनि ओलीको भूमिका नभएको नेपालको भनाइ थियो। “आफ्नो गाउँ, आफैं बनाऔंको शुरूआत हामीले गरेका हौं। एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिने व्यवस्था हामीले गरेका हौं,” नेपालले भने, “केपी ओलीलाई थाहा दिएको भए हुँदैन, भत्ता दिनु पर्दैन भन्थे।”
त्यति वेला समाजवादको झल्को दिने कार्यक्रम अघि सारिएको नेपालको भनाइ थियो।
उनले राजनीतिक रूपमा पनि कम्युनिष्ट आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको नेपालले दाबी गरे। एमाले केन्द्रीय कमिटीको बैठक उद्घाटन समारोहमा ओलीले कम्युनिष्ट मात्रै नभएर लोकतान्त्रिक आन्दोलनको विरासत एमालेसँग रहेको दाबी गरेको थिए।
“कोअर्डिनेशन कमिटी गठन गर्ने पाँच जनामध्ये चार जना जीवित छौं। जीवित चारमध्ये तीन जना झलनाथ खनाल, मुकुन्द न्यौपाने र म एकीकृत समाजवादीमा छौं,” त्यसको जवाफ दिंदै नेपालले भने, “एक जना अमृत बोहरा एमालेमा छन्, अहिले त उनको बोली नै गायब छ।”
त्यही कोअर्डिनेशन कमिटी, माले, एमाले र नेकपा हुँदै एकीकृत समाजवादी बनेको नेपालको भनाइ छ। “यो कम्युनिष्ट पार्टीको पुनर्गठन हो, आन्दोलनको पुनर्गठन हो। पुरानो इतिहास हामीसँग छ,” उनले भने।
एकीकृत समाजवादी बलियो बन्दै गएपछि एमाले नेताहरू आत्तिएको उनको भनाइ थियो। “हाम्रो पार्टी फैलिंदै गएको छ,” एमाले नेताहरूप्रति इङ्गित गर्दै नेपालले भने, “हाम्रा वैरी आत्तिएका छन्। मानसिक सन्तुलन गुमाउन थालेका छन्। बर्बराउन थालेका छन्।”
उनले आगामी स्थानीय तहको चुनावमा एमालेलाई पराजित गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए। सूर्यमा ग्रहण लागेको र कलम चम्किँदै गएको उनको भनाइ थियो।