अब ६५० एमजीको सिटामोल
नेपाली बजारमा अब ६५० एमजी (मिलिग्राम) को सिटामोल आउने भएको छ।
सरकारले ५०० एमजीबाट बढाएर ६५० एमजीको सिटामोल उत्पादन गर्न सहमति दिएको छ। औषधि सल्लाहकार समितिको ५३औं बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ।
बिहीबार स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अध्यक्षतामा बसेको बैठकले सिटामोलको बढाइएको डोजमा सहमति दिएको छ। यससँगै अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोक्ने पनि सहमति दिएको छ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार, उत्पादक कम्पनीले सिफारिश गरेपछि छलफलबाट सिटामोलको नयाँ मूल्य निर्धारण हुनेछ। यसअघि स्वदेशी औषधि उत्पादकहरूले ६५० एमजीको प्यारासिटामोल दर्ता गर्न पाऊँ भन्दै विभागमा निवेदन दिएका थिए।
बिहीबारको बैठकमा मन्त्रालयका नीति योजना महशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, पूर्व अध्यक्ष दीपक दाहाल, एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, नेपाल फर्मास्युटिकल एसोसिएशनबाट ललितमोहन पन्त लगायत सहभागी थिए।