कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा भेला
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिको भेला गरेका छन्।
नेता पौडेलले आगामी स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न आफ्नो पक्षका जिल्ला सभापतिको भेला बोलाएका हुन्। निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सल्लाह भइरहेको जनाएको छ।
पौडेल निवास बोहोराटारको भेलामा पूर्व महामन्त्री डा. शशांक कोइराला, कानून मन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य लगायत नेता पनि सहभागी छन्। भेलामा केही केन्द्रीय सदस्य पनि सहभागी छन्।
आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठकमा आगामी चुनावी तयारीका विषयमा छलफल हुने भएको छ।
यससँगै सत्तारूढ पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल हुने भएको छ। आगामी चुनावमा गठबन्धन गर्ने कि गर्ने भन्ने विषयमा पनि निर्णय हुने जनाइएको छ।