क्षयरोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो पञ्चवर्षीय रणनीतिक योजना
क्षयरोग निणन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना ल्याएको छ।
नेपालले २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य राखेको थियो। तर, अझै ४० हजारभन्दा बढी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको अनुमान छ।
त्यस्तै, सन् २०२१ मा औषधि प्रतिरोधि क्षयरोगको उच्च प्रकोप भएका ३० देशमा नेपाल पनि परेको छ। यही चुनौतीको सामना गर्न स्वास्थ्य मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ कार्यान्वयनमा ल्याएको जनाएको छ।
यस योजना अनुसार देशका चार स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना गर्ने, सातै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विकास र विस्तार गरिने भएको छ।
त्यस्तै, स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मेडिकल कलेज, निजी स्वास्थ्य संस्था तथा प्राज्ञिक संस्थासँग साझेदारीको विकास गर्ने र राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण गरिने भएको छ।
नेपालमा अहिले २८ हजार ६७७ जना क्षयरोगका बिरामी रहेको तथ्याङ्क छ। उनीहरूले उपचार गर्दा दर्ता भएको तथ्याङ्कका आधारमा यो आँकडा आएको हो।
राष्ट्रिय प्रिभ्यालेन्स सर्वेक्षण, २०७४/७५ ले नेपालमा नयाँ, पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी रहेको र वार्षिक रूपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको छ ।
त्यस्तै, औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामी सङ्ख्या वार्षिक रूपमा दुई हजार दुई सय रहेको छ। आथिर्क वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोगको पहिचान भएको थियो भने ४१८ जना मात्रै उपचारका लागि आएका थिए।