होलीमा जथाभावी रङ दल्नेलाई पक्राउ गरिने
होली पर्वमा जथाभावी रङ दल्ने व्यक्तिलाई पक्राउ गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरले होली पर्वका नाममा जथाभावी रूपमा गैरकानूनी कार्य गर्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपील जारी गरी कसैको इच्छा विपरीत रङ नदल्न आग्रह गरेको छ।
कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकल सहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिंड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्ने व्यक्तिलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।
उनले जारी गरेको सार्वजनिक अपीलमा कानूनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य गरेमा कानून बमोजिम कारबाही गरिने प्रजिअ शर्माले बताइन्।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य-मान्यतामा आँच आउने कुनै कार्य नगर्न पनि शर्माले आह्वान गरेकी छन्।
उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आआफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृत रूपमा मनाउन आह्वान गरेकी छन्।