स्थानीय तह पुनर्संरचना प्रतिवेदन मंसिर भित्रै आउने
स्थानीय तह पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले मङ्सिर मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।
तराईका सात जिल्लाबाहेक सबै जिल्लाबाट पुनःसंरचना सिफारिस आइसकेकाले मङ्सिरभित्र प्रतिवेदन बुझाइने तयारी भएको आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए । तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाहेक सबै जिल्लाको प्रतिवेदन आयोगमा आइसकेको छ ।
आयोगले ६८ जिल्लाका प्राप्त प्रतिवेदनलाई अन्तिम तयार पार्ने काम गरिरहेको आयोगका सदस्य सुनिलरञ्जन सिंहले बताए । “हामी सरकारलाई प्रतिवेदन बुझाउनका लागि आन्तरिक तयारीमा छौँ”, उनले भने , “सात जिल्लालाई केही दिनभित्र ठोस निर्णय गरी सरकारलाई प्रतिवेदन बुझाउँछौँ ।”
यसअघि आयोगले मङ्सिरको दोस्रो हप्ता प्रतिवेदन बुझाउने भनेको थियो । विसं २०७२ चैतमा स्थानीय निकायको पुनःसंरचना गर्न गठित आयोगले पहिलो चरणमा ४ चैतदेखि काम थालेको हो ।रासस