संविधान कार्यान्वयन गर्न सरकार गम्भीर
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उनले चासो राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकोमा सन्तोष व्यक्त गर्दै अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट पारिन । “अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर पर्दैन” उनले भनिन् । रासस