क्यान्सरबाट बिरामी बालबालिकामध्ये एक तिहाइले मात्र पाउँछन् उपचार
नेपालमा प्रत्येक वर्ष १५ सय हाराहारी बालबालिकालाई क्यान्सर देखिने अनुमान रहे पनि पाँच सय जतिले मात्र पूर्ण उपचार पाउने गरेका छन्।
नेपालमा क्यान्सर रोग लागेका थुप्रै बालबालिका अझै उपचारबाट टाढै छन्। अस्पतालसम्म पहुँच, उपचार खर्च र जनचेतना अभावमा हजारौंले अकालमा ज्यान गुमाउँदै छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, विश्वमा प्रत्येक वर्ष क्यान्सर लागेका तीन लाख बालबालिका थपिन्छन्। यसबाट हुने मृत्युदर विकसित मुलुकको तुलनामा नेपाल जस्ता न्यून आयस्तर भएका मुलुकमा चार गुणा बढी छ।
जनसाङ्ख्यिक विवरणमा क्यान्सर रोगी बालबालिकाको तथ्याङ्क समेटेका मुलुकहरूको आँकडा अध्ययन गर्दा नेपालमा प्रत्येक वर्ष १९ वर्षमुनिका प्रति १० लाख बालबालिकामध्ये १२० जना नयाँ क्यान्सर रोगी हुने अनुमान छ। यस अनुसार, बालबालिकाको कुल सङ्ख्याको हिसाब निकाल्दा हरेक वर्ष १५ सय जति क्यान्सर रोगी थपिन्छन्। तर, अस्पतालहरूको तथ्याङ्कले तीमध्ये एक तिहाइले मात्र पूर्ण उपचार लिएको देखाउँछ।
डब्लूएचओका अनुसार, विकसित देशमा उपचारका लागि लगिएका बालबालिकामध्ये ८५ देखि ९० प्रतिशतसम्म निको भएका छन्। नेपालमा यस्तो दर ७० प्रतिशत छ। तर, क्यान्सर लागेका बालबालिकामध्ये एक तिहाइले मात्र पूर्ण उपचार लिने भएकाले मृत्यु हुनेको सङ्ख्या यकिन गर्न सहज छैन। कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरी ३० प्रतिशत बालबालिका मात्र उपचार पहुँचमा रहेको अनुमान गर्छन्। यसको अर्थ क्यान्सर भएको अनुमान गरिएकामध्ये प्रत्येक वर्ष पाँच सय जति बालबालिका मात्र अस्पताल पुग्छन्। तीमध्ये तीन सय ५० जना जति निको हुन्छन्। “नेपालमा क्यान्सर लागेका ७० प्रतिशत बालबालिकालाई निको पारिन्छ भनिए पनि कुल सङ्ख्याका हिसाबले त्यो २० देखि २५ प्रतिशत मात्रै हो, किनकि एउटा ठूलो समूह उपचारको पहुँचबाट बाहिरै छ,” डा. गिरी भन्छन्।
अस्पतालका निर्देशक डा. जागृत रायमाझीका अनुसार, धेरै बालबालिका उपचारको पहुँचमा नआउनुको मुख्य कारण आर्थिक समस्या र क्यान्सर निको हुन्छ भन्ने चेतना नपुग्नु हो। “अस्पतालमा रोग पत्ता लागेपछि पनि खर्चिलो रहेछ भन्दै मानिसहरू उपचार गराउनै आउँदैनन्,” उनी भन्छन्।
कान्ति बाल अस्पतालमा प्रत्येक वर्ष क्यान्सरका करीब दुई सय नयाँ बिरामी थपिन्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत दुई वर्षमा क्यान्सर पीडित ३० बालबालिकाले उपचार गराए। तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका वार्षिक तीन सय बालबालिकाको उपचार भइरहेको छ। त्यस्तै, भक्तपुर अस्पतालमा गत वर्ष क्यान्सर भएका तीन सय ९८ बालबालिकाले उपचार गराए।
काठमाडौं उपत्यकाका सरकारी अस्पतालमै सस्तो र गुणस्तरीय उपचार हुने गरे पनि थाहा नपाएरै धेरै जना उपचारबाट टाढा रहेको डा. गिरीको भनाइ छ। “पहिलेको तुलनामा उपचार गराउने बालबालिकाको सङ्ख्या बढे पनि अझै थुप्रै बिरामी समुदायमै छन्,” उनले भने, “तिनलाई कसरी अस्पताल ल्याउने भन्ने मुख्य चुनौती हो।”
पाँच वर्षमुनिका बालबालिकाको आँखाको भित्री पर्दामा पलाउने क्यान्सर नियन्त्रण चुनौती बन्दै गएको तिलगंगा आँखा अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकार बताउँछिन्। उनका अनुसार, १५ हजार नवजात शिशुमध्ये एक जनामा देखापर्ने यो क्यान्सरको उपचारमा ढिलाइले अन्धोपन हुनुका साथै ज्यानै जान सक्छ।
विकसित देशमा यस्तो क्यान्सरबाट हुने मृत्युदर पाँच प्रतिशत रहेकोमा नेपाल जस्ता विकासोन्मुख देशमा ५० प्रतिशतभन्दा बढी छ। “हाम्रो जस्तो देशमा सबै खाले क्यान्सरले हुने मृत्युदर बढी हुनुको कारण उपचारको सहज उपलब्धता नहुनु हो,” डा. राजकर्णिकार भन्छिन्, “बिरामी समयमै उपचारमा लाग्ने अवस्था बने धेरैलाई बचाउन सकिन्थ्यो।”
केही समय अघिसम्म क्यान्सरको उपचारपछि ‘फलोअप’ गर्न कान्ति बाल अस्पताल नै धाउनुपर्थ्यो। केही सय रुपैयाँको इन्जेक्सन लगाउन दूरदराजबाट हजारौं खर्चेर काठमाडौं पुग्नुपर्थ्योे, नियमित सेवन गर्नुपर्ने औषधि छुट्थ्यो। यो अवस्था हटाउन कान्ति अस्पतालले हाल पोखरा र विराटनगरमा पनि ‘फलोअप’ सेवा थालेको छ। “टाढा टाढाका बिरामी फलोअपका लागि काठमाडौं नै आउन नपरोस् भनेर यो सेवा शुरू गरेका हौं, सातै प्रदेशमा फैलाउने योजना छ,” डा. गिरी भन्छन्।
सरकारले क्यान्सर ग्रस्त बालबालिकाको उपचारका लागि एक लाख रुपैयाँ सहुलियत दिंदै आएको छ। तर, त्यो रकम पूरै उपचार गर्न पर्याप्त छैन। गिरीका अनुसार, बालबालिकामा हुने क्यान्सरको उपचार गर्दा सरकारी अस्पतालमा चारदेखि पाँच लाखसम्म खर्च हुन्छ। समय पनि चार–पाँच वर्षै लाग्छ। दूरदराजबाट आएका बिरामी र तिनका आफन्तले खान–बस्नमा गर्नुपर्ने थप खर्च छँदै छ। “त्यसैले राज्यले उपचार सहज बनाउनुका साथै पर्याप्त जनशक्ति उत्पादन र पूर्वाधारमा लगानी गर्नुपर्छ,” उनी भन्छन्।
पाटन अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा. सुचारिका तुलाधर सरकारी अस्पतालमै क्यान्सरको गुणस्तरीय उपचार हुने बताउँछिन्। उनका अनुसार, धेरैलाई सरकारी अस्पतालमै बालबालिकामा हुने क्यान्सरको उपचार हुन्छ भन्ने थाहा छैन। सरकारले पनि सबैसम्म चेतना पुर्याउन र सेवा विस्तार गर्न ध्यान दिएको छैन। “उपकरण, प्रविधि र जनशक्तिका हिसाबले सेवा अझै विस्तार गर्न राज्यले ध्यान दिए थुप्रै बालबालिकालाई क्यान्सरबाट बचाउन सकिन्छ,” उनी भन्छिन्।