स्मार्टफोन ढुक्कले प्रयोग गर्नुस्ः हुवावे
विश्वप्रख्यात मोबाइल कम्पनी हुवावेले ढुक्क भएर स्मार्टफोन प्रयोग गर्न आफ्ना प्रयोगकर्तालाई आग्रह गरेको छ ।
हुवावे नेपालका कन्ट्री डाइरेक्टर जोयस चुँ ले अमेरिकी कदमले आफ्नो ब्राण्डमा कुनै असर नपर्ने बताएका हुन् ।
अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई व्यापारमा प्रतिबन्ध लगाउने जनाएपछि हुवावेका लाखौं प्रयोगकर्ता सशंकित बनेका छन् ।
अमेरिकाले आफ्नो सबै सरकारी संयन्त्र एउटा निजी कम्पनीविरुद्ध प्रयोग गरिरहेको बताउँदै चुँ ले अमेरिकी कमदले हुवावेलाई कुनै असर नगर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अन्तर्राष्ट्रिय दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको भन्दै प्रयोगमा रोक लगाउने चेतावनी दिएका थिए ।
अमेरिकी सरकारले हुवावेको फोनबाट जासुसी भइरहेको आरोप लगाएको छ । तर, यो आरोप हुवावेले अस्वीकार गर्दै आएको छ ।
अमेरिकी सरकारले गुगल र माइक्रोसफ्टसँग सहकार्य तोड्न बाध्य बनाए आफ्नै अपरेटिङ सिस्टम बनाउने घोषणा हुवावेले गरिसकेको छ ।
पछिल्ला वर्षमा हुवावे फोनको बिक्री निकै बढेको छ । हाल विश्वभर हुवावेका मोबाइल सेटको संख्या २०० मिलियन बढी छ ।
हुवावेका प्रयोगकर्ता गतवर्ष मात्रै ४१ प्रतिशतले बढेका थिए । हुवावे अहिले स्मार्टफोनको बजारमा दोस्रो नम्बरमा पर्छ । गतवर्ष यसले एप्पलको बिक्रीलाई पनि पछाडि पारेको थियो ।
हुवावे फाइभजी टेक्नोलोजीमा अगुवा कम्पनी भए पनि अपरेटिङ सिस्टम र सर्च इन्जिनमा भने अरु कम्पनीमा निर्भर छ । बिजनेस इन्साइडरका अनुसार हुवावेले वार्षिक खरीद गर्ने ६७ अर्ब डलरका पार्टपुर्जा मध्ये ११ अर्ब डलर बराबरको आपूर्ति अमेरिकी कम्पनीले गर्दै आएका छन् ।