आज राष्ट्रिय सभा चुनाव, १९ पदमा ४३ उम्मेदवार
राष्ट्रिय सभाका सदस्यका लागि आज चुनाव हुँदै छ। जसमा सत्तारूढ गठबन्धन र अन्य दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आज सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। यसका लागि शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड लगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। मतदाता र कर्मचारी मतदानस्थल र केन्द्र तोकिएका शहरमा पुगिसकेका छन्।
प्रदेश १ मा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदानस्थल तोकिएको छ। त्यस्तै, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदानस्थल तोकिएको छ ।
गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि धनगढीस्थित प्रदेश सभा भवनमा मतदानस्थल तोकिएको छ।
आगामी २० फागुनमा नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिंदै छ। उनीहरूको स्थानका लागि निर्वाचन हुन लागेको हो।
राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।
निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आजै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ।