सत्तारूढ दललाई एमालेको प्रश्न- कुन नैतिकताका आधारमा नेताहरू ‘अर्ली इलेक्सन’ को कुरा गर्दै छन्?
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सत्तारूढ दलको ‘अर्ली इलेक्सन’ को कुरा गलत मनसायबाट आएको निष्कर्ष निकालेको छ।
स्थानीय तहको निर्वाचनलाई पर सार्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ वैशाखमा संसदीय चुनावको कार्ड फ्याँकिएको एमालेको निष्कर्ष छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधि सभाको निर्वाचन २०७९ वैशाखमा गर्ने कार्ड फ्याँकेका छन्।’
आफ्नो पार्टी जुनसुकै निर्वाचन सामना गर्न तयार रहेको ओलीको भनाइ छ। ओलीलाई कोभिड–१९ सङ्क्रमण भएपछि एमालेको १५ बुँदे धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरिएको हो।
‘प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई ‘संविधानको जित’ का रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सनको कुरा गर्दै छन्?’ ओलीको प्रश्न छ, ‘यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन?’