काठमाडौंसँगै १५ जिल्लामा उच्च सङ्क्रमण
काठमाडौंसँगै कोभिड-१९ को उच्च सङ्क्रमण रहेका जिल्लाको सङ्ख्या १५ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, प्रदेश १ का झापा, मोरङ र सुनसरी, मधेश प्रदेशको धनुषा, बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र काभ्रे, गण्डकीका कास्की र नवलपरासी (पूर्व), लुम्बिनीका रुपन्देही र बाँके तथा सुदूरपश्चिमको कैलालीमा सङ्क्रमण उच्च देखिएको छ। यी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ।
त्यस्तै, दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पनि १७ पुगेको छ। मधेश प्रदेशका बारा, पर्सा, महोत्तरी, सर्लाही, सिराहा र सप्तरी, बागमतीका नुवाकोट, धादिङ, सिन्धुली र सिन्धुपाल्चोक, गण्डकीका तनहुँ, स्याङ्जा, गोरखा र बाग्लुङ, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेको छ।
आज सबैभन्दा बढी काठमाडौंमा तीन हजार ७६२ जनामा कोरोना देखिएको छ। त्यस्तै, ललितपुरमा एक हजार ११०, भक्तपुरमा ४३४, काभ्रेमा १०१, चितवनमा १५३ र मकवानपुरमा १४७ जनामा कोरोना देखिएको छ।
यसै गरी मोरङमा २७३, सुनसरीमा २१२, कास्कीमा ४००, बाँकेमा १४८, रुपन्देहीमा १४९ र कैलालीमा १७० जनामा कोरोना पुष्टि भएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार ८६२ पुगेको छ।