काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना
देशभर पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ९३ पुगेको छ।
त्यस्तै, उपत्यकामा पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंमा पाँच हजार एक, ललितपुरमा एक हजार १३० र भक्तपुरमा ८५० जना छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा तीन हजार ७८३ पुगेको छ।
काठमाडौं उपत्यकासँगै बागमतीका ६ जिल्लामा उच्च सङ्क्रमण देखिएको छ। चितवन, मकवानपुर र काभ्रेमा पनि सङ्क्रमण उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार चितवनमा ११५, मकवानपुरमा ११६ र काभ्रेमा १८७ जनामा कोरोना देखिएको छ। योसँगै ६ वटै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लालाई उच्च जोखिममा राखेको छ।