जनकपुरमा विवाह महोत्सव मनाइदै
रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरमा भव्यताका साथ मनाइदैछ ।
मंसिर शुक्ल पञ्चमीको तिथिमा पर्ने यो महोत्सव त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान रामले मंसिर शुक्ल पञ्चमीको तिथिमा राजा जनककी पुत्री जानकीसित जनकपुरमा धनुष तोडेर विवाह गरेको धार्मिक विश्वसास छ । सोही विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीलाई विवाहपञ्चमी महोत्सवको रुपमा मनाउने गरिन्छ ।
यसवर्ष पनि विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरलाई सजाईएको छ । १९ मंसिर मध्यान्ह १२ बजे जानकी मन्दिरको मूल ढोका खुलेपछि अयोध्याबाट जन्तीको रुपमा आएका सन्तमहन्थहरुलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले नयाँ वस्त्र उपहारको रुपमा प्रदान प्रदान गरेका छन् ।
त्यसपछि किशोरीको डोलासँगै हजारौंको संख्यामा श्रद्धालु भक्तजन रंगभूमि मैदान पुगेका छन् । रंगभूमी मैदानमा राममन्दिरबाट पुगेको श्रीरामको डोलाले किशोरीको डोलालाई परिक्रमा गराएर विवाह महोत्सवका लागि जानकी मन्दिरको प्राङ्गणमा डोलाहरु राखिएका छन ।
मन्दिरका महन्थ दासले मिथिला संस्कृतिमा छोरीको विवाहमा गरिने प्रत्येक विधि र वैद्धिक मन्त्रोच्चारण गरेर राति रामजानकीको विवाह हुने बताए । विवाहको लागि जानकी मन्दिरको प्राङ्गणमा गंगासागरबाट १८ मंसिरमा मटकोर गरेर ल्याइएको माटोले वेदी तयार गरिएको छ । वेदीलाई रंगीबिरंगी फूल तथा बत्तीले सजाईएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर