ट्राफिक व्यवस्थापन गर्न वैकल्पिक युवा सङ्गठनको माग
काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक युवा सङ्गठनले महानगरीय ट्राफिक प्रहरी महाशाखामा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझाउनुअघि रत्नपार्क शान्तिवाटिकामा युवाले प्लेकार्ड बोकेर शान्तिपूर्ण ट्राफिक सचेतना कार्यक्रम समेत गरेका थिए। उनीहरूले रत्नपार्कमा ट्राफिक नियम पालना गर्न नागरिकलाई अनुरोध गर्दै प्ले कार्ड प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘ट्राफिक नियम पुलिससँग बच्न होइन, आफ्नो घरपरिवारसँग फेरि भेट्न पालना गर्नुहोस्,’ ‘बाटो काट्ने मान्छेले दिऔं ध्यान, जेब्रा क्रसबाट नकाटे जान सक्छ ज्यान’, ‘ए दाइ, गाडी बाटोमा हिंड्ने हो, मान्छे फूटपाथमा’, ‘राजमार्ग, मृत्युमार्ग नबनोस्’ जस्ता प्ले कार्ड बोकेका थिए।
ज्ञापनपत्र बुझ्दै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सीमित स्रोतसाधनमा पनि ट्राफिक प्रहरीले उत्कृष्ट काम गरिरहेको बताए। प्रहरी एक्लैको योगदानले मात्र सडक सुरक्षित नहुने उनको भनाइ थियो। उनले भने, “सडक दुर्घटनामा पर्ने अधिकांश युवा हुन्छन्। युवा सचेत भए धेरै कुरा समाधान हुन्छ।”
अभियान विभागका नेता सौरभ न्यौपाने, सङ्गठनका केन्द्रीय संयोजक शिशिर बन्जारा, केन्द्रीय सदस्य युजन राजभण्डारी लगायतको टोलीसँगै वैकल्पिक महिला सङ्गठनकी सल्लाहकार इन्दिरा शर्मा पनि सहभागी थिइन्।
सङ्गठनले काठमाडौंका भित्री गल्लीहरूमा बिग्रिएका ट्राफिक बत्तीहरू र जेब्रा क्रसिङ लगायत ट्राफिक चिह्नहरू मर्मत गर्न, कोटेश्वर-कलंकी तथा माइतीघर-कोटेश्वर सडकमा बीचबाटै सवारी साधनले बाटो काट्ने गर्ने समस्या नियमन गर्न तथा ट्राफिक नियम तोडेमा पारदर्शी रूपमा कडा जरिवाना र ट्राफिक शिक्षा कक्षाको नीति कार्यान्वयन गर्न सुझाव दिइएको छ।