लिपुलेक र कालापानी अतिक्रमणको प्रतिवाद गर्नुपर्छ: राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेक र कालापानी क्षेत्रमा भारतले गरिरहेको अतिक्रमणको प्रतिवाद गर्नुपर्ने जनाएको छ।
राप्रपा महामन्त्री भुवन पाठकले शनिबार प्रेस विज्ञप्ति जारी गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तार गरिरहेको विषयको विरोध गरेको छ। राप्रपाले भनेको छ, “नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ।”
भारतले गरिरहेको अतिक्रमणको प्रतिवाद गर्न राप्रपाले सरकारसँग आग्रह गरेको छ। “कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्छ,” राप्रपाले भनेको छ, “भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद र रहस्यमय छ।”
लिपुलेक र कालापानी क्षेत्रको विवाद समाधान गर्न कूटनीतिक संवादका माध्यमबाट पहल गर्न पनि राप्रपाले माग गरेको छ। राप्रपाले भनेको छ, “नेपाली भूमिमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ।”
केही दिनअघि भारतको उत्तराखण्डमा आयोजित एक कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको बताएका थिए।