कोरोना नियन्त्रणका लागि प्रधानमन्त्रीलाई एमालेको ज्ञापनपत्र
कोभिड-१९ नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउँदै नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
नेता सुवास नेम्वाङको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको एमालेको टोलीले प्रधानमन्त्री देउवालाई कोभिड-१९ को रोकथाम र उपचारबारे ध्यानाकर्षण गराएको हो। सङ्क्रमण बढ्दै गएकाले सरकारले समयमै ध्यान दिनुपर्ने एमाले टोलीको भनाइ थियो।
प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताए। एमाले टोलीले ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए।
“कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ,” देउवाले भने, “सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ।”
प्रधानमन्त्री देउवाले तेस्रो लहरसँगै आएको ओमिक्रोन भाइरस धेरै सङ्क्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए।
उनले आफूले सरकारको नेतृत्व गरेपछि कोरोना विरुद्धको खोप लगाउने सङ्ख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकार अघि बढेको पनि बताए।