बन्दीपुर दुर्घटनामा मृतकको सङ्ख्या ६ पुग्यो
तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, ग.१ज ६५५५ नम्बरको बोलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा बन्दीपुर-६ धरमपानीका ९ महीने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, ७६ वर्षीया विममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीया जमुना थापा, ४८ वर्षीया मम्कुली थापा, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया समिसा थापा र सात महीने बालिका विविशा थापा घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको बन्दीपुर अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार साँझ बोलेरो सडकबाट १०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।