सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन
नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख-उपप्रमुखलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।
एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले अन्तरपार्टी निर्देशन जारी गर्दै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएका छन्।
अन्तरपार्टी निर्देशन-१ मा पार्टीको १०औं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेतलाई पनि १४ पुसबाट गणना हुने गरी ६० दिनभित्र विवरण पठाउन भनिएको छ।
आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको जनाएको छ। आयोगका सचिव भरत पहारीले तयार गरेको मस्यौदामाथि थप छलफल गरेर पारित गरिने आयोगले जनाएको छ।