देशभर देखिएका कोरोना सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौंमा
आज देशभर पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज देशभर तीन हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ९१६ जना काठमाडौं उपत्यकामै रहेका छन्।
त्यस्तै, काठमाडौंमा एक हजार ४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना देखिएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि काठमाडौंमा पाँच हजार ८४२, ललितपुरमा एक हजार ५९१ र भक्तपुरमा ९६३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले उपत्यकाका तीन जिल्लासँगै मोरङ र कास्कीलाई उच्च सङ्क्रमण भएका जिल्लामा राखेको छ। त्यस्तै, सुनसरी, चितवन, नवलपरासी, बाँके, रुपन्देही र कैलालीमा पनि सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको मन्त्रालयले जनाएको छ।