मंसीरमा झनै खस्कियो अर्थतन्त्र, अधिकांश सूचकाङ्क निराशाजनक
उच्च आयात र घट्दो रेमिटेन्सका कारण अर्थतन्त्र थप अप्ठ्यारोमा परेको देखिएको छ।
चालू आर्थिक वर्षको पहिलो पाँच महीना (मंसीर)मा देशको शोधनान्तर स्थिति (भित्रिने र बाहिरिने रकमबीचको अन्तर) रु.१ खर्ब ९५ अर्बले घाटामा पुगेको छ। यो गत वर्षको यही अवधिमा १ खर्ब ६ अर्बले बचतमा थियो।
त्यसै गरी, देशको चालू खाता घाटा मंसीरमा रु.३ खर्ब नाघेको छ। गत वर्षको यही अवधिमा चालू खाता रु.१९ करोड ६६ लाखले मात्रै घाटामा थियो।
उच्च आयातका कारण देशको वैदेशिक मुद्राको सञ्चिति पनि मंसीरमा थप ओरालो लागेको छ। विदेशी मुद्राको सञ्चिति १० अर्ब ३ करोड डलर बराबरमा सीमित छ।
पाँच महीनाकै अवधिमा विदेशी मुद्राको सञ्चिति १ अर्ब ७२ करोड डलरले घटेको छ। गत असारमा देशसँग ११ अर्ब ७५ करोड डलर थियो। यो सञ्चितिले ६ महीना २४ दिनको वस्तु र सेवा आयात गर्न पुग्छ।
देश भित्रिने रेमिटेन्स पनि उत्साहजनक छैन। मंसीरसम्म रु.३ खर्ब ८८ अर्ब ५८ करोड रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशत कम हो। कात्तिकको तुलनामा रेमिटेन्स भित्रिने क्रममा केही सुधार देखिन्छ। कात्तिकमा रेमिटेन्सको वृद्धिदर ७.५ प्रतिशतले घटेको थियो।
यसअघि अर्थतन्त्रको बाह्य क्षेत्रमा मात्रै चाप पर्दै आए पनि मंसीरमा आइपुग्दा मुद्रास्फीति डरलाग्दो गरी बढेको देखिएको छ। मंसीरमा उपभोक्ता मूल्यवृद्धि गत वर्षको यही अवधिका तुलनामा ७.११ प्रतिशतले बढेको छ। यो कात्तिकमा ५.३२ प्रतिशत मात्रै थियो।
मंसीरसम्म देशमा विदेशबाट रु.८ खर्ब ३८ अर्ब ४१ करोडको वस्तु आयात भएको छ। जबकि, निर्यात भने रु.१ खर्ब २ अर्ब ९२ करोड मात्रै छ। चालू आर्थिक वर्षको पहिलो पाँच महीनामै देशले बाह्य व्यापारमा रु.७ खर्ब ३५ अर्ब व्यापार घाटा बेहोरिसकेको छ।
कात्तिकका तुलनामा मंसीरमा आयातको वृद्धिदर भने केही मत्थर भएको छ। कात्तिकमा ६१.६ प्रतिशतले बढेको आयात मंसीरमा ५९.५ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र ब्यांकले आयातलाई निरुत्साहन गर्ने नीति लिएका कारण पुसमा भने आयातको वृद्धिदर पर्याप्त घट्ने आकलन छ।