डा. लोहनीलाई वीरमा सरुवा गर्ने स्वास्थ्य मन्त्रीको निर्णय प्रधानमन्त्रीद्वारा रोक्का
डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री विरोध खतिवडाको निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।
स्वास्थ्य मन्त्री खतिवडाले कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुखमा डा. लोहनीको सरुवा गरेका थिए। मन्त्रीस्तरीय निर्णयबाट डा. भुपेन्द्र बस्नेतको ठाउँमा डा. लोहनीलाई पठाइएको थियो।
मन्त्रालय स्रोतका अनुसार, आफूसँग सल्लाह नै नगरी सरुवाको निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएका छन्। “अब तत्काल युनिफाइड अस्पतालमा डा. बस्नेत नै प्रमुख रहनेछन्,” स्रोतले भन्यो।
डा. लोहनीलाई वीरमा पठाएपछि त्यहाँका केही कर्मचारीले विरोध गरेका थिए। उनीहरूले बुधबार डा. लोहनीलाई हाजिर गर्न नदिने भन्दै नाराबाजी गरेका थिए। त्यसपछि उनी हाजिर नगरी फर्किएका थिए।