स्थानीय चुनावको मिति तय गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
स्थानीय तहको चुनावको मिति तय गर्न निर्वाचन आयोगले तयारी तीव्र पारेको छ।
आगामी वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेको आयोगले तयारीकै क्रममा राजनीतिक दलहरूसँग परामर्श गर्न लागेको छ। यसका लागि ३० पुस बिहान साढे ११ बजे बैठक सर्वदलीय बैठक बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हिमालखबरलाई जानकारी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार सर्वदलीय बैठकमा स्थानीय चुनावको मिति, राष्ट्रिय सभा निर्वाचनको तयारी र मतदाता नामावली संकलन अभियान लगायतका विषयमा छलफल हुनेछ।
२०७४ वैशाख, असार र असोजमा स्थानीय चुनाव भएको थियो। त्यतिवेला निर्वाचित जनप्रतिनिधिको कार्यवधि ५ जेठ २०७९ मा सकिदै छ। उनीहरूको कार्यवधि सकिनुभन्दा दुई महीना अघि चुनाव गरिसक्नुपर्ने आयोगले जनाएको छ।
आयोगका पदाधिकारीले गत ८ कात्तिकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्धारित मितिमै स्थानीय चुनाव गर्नुपर्ने सुझाव दिएको थियो। ९ पुसमा प्रधानमन्त्री देउवालाई भेटेर आयोगका पदाधिकारीले १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए।
स्थानीय तहको चुनावको मिति सिफारिश गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरिएको एक आयुक्तले जानकारी दिए। “यो बैठक खासगरी स्थानीय चुनावको मितिलाई लक्षित गरेरै बोलाइएको हो,” उनले भने, “शुक्रबारको सर्वदलीय बैठकमा दलहरूसँग छलफल गरेर स्थानीय चुनावको मिति सिफारिश गर्छौं।”