ओमिक्रोन भेरियन्टका कारण विश्व अर्थतन्त्रमा नयाँ चुनौती: विश्व ब्यांक
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्व अर्थतन्त्रमा नयाँ चुनौती देखिएको बताएको छ।
ब्यांकको पछिल्लो विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदनले सन् २०२२ र २०२३ मा संसारभरिको अर्थतन्त्रलाई महामारीले थप प्रभाव पार्न सक्ने आकलन गरेको छ। महामारीका कारण आर्थिक गतिविधिमा प्रभाव पर्ने, मल्यवृद्धि हुने तथा अनिश्चय गहिरिने पनि ब्यांकको अनुमान छ।
प्रतिवेदनले सन् २०२२ मा विश्व अर्थतन्त्र ४.१ प्रतिशतले र २०२३ मा ३.२ प्रतिशतले बढ्ने आकलन गरेको छ। सन् २०२१ को ५.५ प्रतिशतको वृद्धिदर यो वर्ष र आगामी वर्ष घट्ने ब्यांकको प्रक्षेपण छ। ब्यांकले विश्वभरि मुद्रास्फीति, सरकारहरूको ऋण, धनी र गरीबबीचको असमानता थप चर्किने पनि बताएको छ।
ब्यांकले चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ। सरकारले यो वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताउँदै आएको छ। त्यसै गरी, आगामी आर्थिक वर्षमा पनि आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै हुने विश्व ब्यांकको प्रक्षेपण छ।
गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सीमित भएको ब्यांकको तथ्याङ्क छ। यसले लगातार दोस्रो वर्ष पनि नेपालको अर्थतन्त्र सुस्त तरीकाले बढ्ने देखाएको छ। कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र करीब चार दशकपछि नकारात्मक हुँदै २.१ प्रतिशतले ऋणात्मक वृद्धि भएको थियो।
विश्व ब्यांकले सन् २०२२ मा भारतको अर्थतन्त्र भने ८.३ प्रतिशतले बढ्ने अनुमान गरेको छ। त्यसै गरी, दक्षिणएशियाको आर्थिक वृद्धिदर सन् २०२२ मा ७.६ प्रतिशत हुने अनुमान छ।