निजी क्षेत्रमा अब्बल काम गर्ने व्यक्ति र संस्था पुरस्कृत
मानव जनशक्तिको क्षेत्रमा काम गर्दै आएको ग्रोथ सेलर्सको भगिनी संस्था कर्पोरट क्लबले निजी क्षेत्रमा उत्कृट कार्य गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको छ।
निजी क्षेत्रमा अब्बल काम गर्ने व्यक्ति र संस्थालाई छनोट गरी विभिन्न १९ विधामा पुरस्कार वितरण गरिएको हो। काठमाडौंको सोल्टी होटलमा आयोजित सम्मान समारोहको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
नेपालको निजी क्षेत्रमा उत्कृट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योजदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको ग्रोथ सेलर्सले जनाएको छ। उत्पादनमूलक उद्योगतर्फ किरण शू, वित्तीय सेवातर्फ मुक्तिनाथ विकास ब्यांक, बीमातर्फ शिखर इन्स्योरेन्स, सूचना प्रविधितर्फ डिस मिडिया नेटवर्क, हस्पिटालिटीतर्फ द सोल्टी, स्वास्थ्य सेवातर्फ तिलगंगा आँखा अस्पताल, औषधि उद्योगतर्फ क्वेस्ट फर्मास्यूटिकल्स, पेन्ट्सतर्फ एशियन पेन्ट्स, जलविद्युततर्फ बुटवल पावर, कृषि ब्यापारतर्फ निम्बस होल्डिङस र वित्तीय प्रविधितर्फ इसेवालाई सन् २०२१ को द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स प्रदान गरिएको थियो।
कार्यक्रममा महिला नेतृत्वतर्फ मेगा ब्यांककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, पुरुष नेतृत्वतर्फ व्यवसायी हरिभक्त शर्मालाई सम्मान गरिएको थियो। लाइफटाइम अचिभमेन्ट अवार्ड गणेशबहादुर श्रेष्ठलाई प्रदान गरिएको हो।
त्यसैगरी, सस्तो डिल, टिच फर नेपाललाई पनि उनीहरूले पु¥याएका योगदानका लागि सम्मान गरिएको थियो। कार्यक्रममा प्राध्यापक डा. सुरेशराज शर्मा, प्रा.डा. सन्दुक रुइत र प्रा.डा. भगवान कोइरालालाई सबल संस्थाहरूको निर्माणमा गरेको योगदानका लागि सम्मान गरिएको छ।
काठमाडौं विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्रा.डा. सुवास केसी संयोजकत्वको निर्णय समितिले पुरस्कृत हुने व्यक्ति र संस्थाको चयन गरेको थियो। निर्णायक समितिका अरु सदस्यमा पूर्व सचिव पुण्यप्रसाद न्यौपाने, प्रा.डा. रिता श्रेष्ठ, सफल पार्टनरका प्रमुख कार्यकारी अधिकृत ओषुतोश तिवारी, पूर्व ब्यांकर वर्षा श्रेष्ठ र पत्रकार मुकुल हुमागाई सदस्य थिए।
व्यवसायिक क्षेत्रमा असल काम गर्नका लागि प्रेरित र प्रोत्साहन गर्ने अपेक्षासहित कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मोहन ओझाले बताए।