डा. शेखर कोइरालाको प्रश्न- केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो?
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्य मनोनयनमा असन्तुष्टि जनाएका छन्।
डा. कोइरालाले बुधबार आफू निकट नेताहरूसँग छलफल गरेका छन्। छलफलका क्रममा बोल्दै उनले केन्द्रीय सदस्य मनोनयनको मापदण्डका विषयमा प्रश्न गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पटक गरेर १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। कांग्रेस विधान अनुसार, सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ।
अहिले मनोनयन गरिएका केन्द्रीय सदस्य योग्य भए पनि त्यसको मापदण्ड के हो भनेर प्रश्न गरेका हुन्। उनले छलफलमा चार बुँदामा लिखित मन्तव्य राखेका थिए।
डा. शेखर कोइरालाले राखेको लिखित मन्तव्य:
नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने अभियानमा विश्राम लागेको छैन। पार्टीको १४औं महाधिवेशनले केही साथीहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा पुर्याएको छ भने केही साथीहरूलाई पदीय जिम्मेवारीबाट बाहिर राखेको छ।
१) सङ्गठनभित्रको जिम्मेवारी पाउनुभएका साथीलाई कांग्रेस कार्यकर्ता र शुभेच्छुकले मात्र आस्था र भरोसा गरेका छैनन्, आम नेपाली जनता पनि बढी विश्वासका साथ हाम्रा साथीहरूको गतिविधिलाई हेरिरहेका छन्। त्यस कारण हामी अग्निपरीक्षामा छौं।
२) हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ। अहिले पार्टी सङ्गठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन। तर, यति भनिरहँदा पार्टीमा काम गर्न निष्ठावान्, इमानदार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ। हामी लोकतन्त्रवादीहरू राजनीतिक खेल एउटा नियमसङ्गत रूपमा अगाडि बढोस् भन्ने चाहन्छौं। सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए अगाडिका निर्वाचनहरू हाम्रा लागि असहज हुन सक्छन्। हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथल हुन सक्छ।
३) पार्टी सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ, नियुक्ति पाउनुभएका सबै साथीहरू योग्य नै हुनुहुन्छ, तर के ‘मापदण्ड’ अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण व्यवस्थापन हुन जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्छ।
४) सभापतिको ‘लाइक’ र ‘डिसलाइक’ मा व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने?
मलाई थाहा छ। हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनाैं हाेला तर पार्टीिभत्र हुने सबै कार्यहरू न्यायसङ्गत, विधि र विधानसङ्गत, विवेकपूर्ण र व्यावहारिक तरीकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरूमा हामी आवाज उठाउन सक्ने कि नसक्ने? मलाई लाग्छ, हामी सक्छौं।
साथीहरू हाम्रा अगाडिका बाटाहरू सहज छैनन्। तीन तहको निर्वाचन हामीसामु छ। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभर साथीहरूसँग जानेछौं। एकताको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं। हामी थाक्नेछैनौं र विश्राम पनि लिनेछैनौं। हामी कुनै पनि कार्यकर्ताको शिर झुक्न दिनेछैनौं। निराश हुन दिनेछैंनौ। कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी लागी नै रहनेछौं। तीन तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्ने कुरामा हामी कटिबद्ध छौं।