बालकलाई खोप लगाएको आरोपमा अमेरिकामा शिक्षिका पक्राउ
अमेरिकाको न्यूयोर्कस्थित विद्यालयकी एक शिक्षिका चिकित्सकीय दक्षता विना विद्यार्थीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाएको आरोपमा पक्राउ परेकी छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, बायोलोजी अध्यापन गराउने लौरा रुसो नामकी शिक्षिकाले १७ वर्षका बालकलाई आफ्नै घरमा खोप लगाएकी हुन्।
५४ वर्षीया शिक्षिकाले खोप लगाउनुअघि बालकका अभिभावकको अनुमति नलिएको जनाइएको छ। प्रहरीका अनुसार, यो गतिविधिका कारण उनलाई चार वर्षको जेल सजाय हुन सक्छ।
इन्जेक्सन राम्ररी लगाइएन भने यसले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। खोप लगाउनुअघि चिकित्सक तथा स्वास्थ्यकर्मीले खोपको मिति सकिएको छ वा छैन भनेर जाँच्नु आवश्यक हुन्छ।
त्यस्तै, खोप लगाउनुअघि बिरामीलाई कुनै प्रकारका रोग भए-नभएको वा एलर्जी छ-छैन भनेर जाँच गर्नु आवश्यक रहन्छ।
शिक्षिकाले कहाँबाट खोप पाएको र कुन खोप लगाएका भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अमेरिकामा हाल १८ वर्षमुनिका बालबालिकालाई फाइजर–बायोटेकको खोप लगाउने अनुमति दिएको छ।
बालकले घरमा गएर आफ्ना अभिभावकलाई खोप लगाएको कुरा सुनाएपछि यो कुरा बाहिर सार्वजनिक भएको हो। पछि, उनका अभिभावकले प्रहरीलाई खबर गरेका थिए।