समाचारमंगलबार, १४ जेठ , २०७६

विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सम्पन्न

रासस

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७५\७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।

यसैगरी जयनगर–कुर्था ३५ र कुर्था–बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौं उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो–नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ ।

खोकना–सातदोबाटो र नारायणगोपाल चोक बुढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ ।

चीन सरकारको सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ ।

भारत सरकारको सहयोगमा वीरगञ्ज–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची–महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिंक मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस