९१ संस्थाका लागि करीब १२ अर्ब पुनर्कर्जा स्वीकृत (सूची सहित)
नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्ष २०७८/७९ को मंसीरसम्म ९१ संस्थाको पुनर्कर्जा स्वीकृत गरेको छ।
बुधबार सूची सार्वजनिक गर्दै राष्ट्र ब्यांकले १५ संस्थाका लागि विशेष पुनर्कर्जा र ७६ का लागि साधारण पुनर्कर्जा स्वीकृत भएको जनाएको हो।
यसमध्ये विशेष पुनर्कर्जा रु.२ अर्ब ४५ करोड ७८ लाख र साधारण पुनर्कर्जाका लागि ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत भएको छ।
पुनर्कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ४७.८६ प्रतिशत र कम सुदूरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत छ। त्यसै गरी, प्रदेश–१ मा १२.८७ प्रतिशत, प्रदेश–२ मा ४.१६, गण्डकीमा ११.६२ र लुम्बिनी प्रदेशमा २२.६६ प्रतिशत हिस्सा छ।
क्षेत्रगत रूपमा पर्यटन क्षेत्रमा ५१.९७ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको छ। त्यस्तै, जलविद्युत् क्षेत्रका लागि १९.९१, उत्पादनमूलक क्षेत्रमा १६.६८, कपडा उद्योगमा ०.४६, यातायात २.०७, शिक्षा ७.२२ र स्वास्थ्य क्षेत्रमा १.६९ प्रतिशत स्वीकृत भएको छ।
कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसायका लागि राष्ट्र ब्यांकले पुनर्कर्जा दिएको हो। यसको ब्याजदर ३–५ प्रतिशत छ।