कोभ्याक्सले प्रतिबद्धता पूरा नगर्दा ८ जिल्लाका बालबालिकाको खोप अभियान प्रभावित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १३ पुसबाट ८ जिल्लाका ११ देखि १७ वर्षका बालबालिकालाई दिने भनिएको खोप अभियान स्थगित गरेको छ।
खोपका लागि चाहिने ०.३ एमएलको सिरिन्ज र घोलक पदार्थ नभएको भन्दै मन्त्रालयले खोप अभियान स्थगित गरेको हो।
यो घटनाले खोप हुँदाहुँदै वितरण व्यवस्थापनको योजना नबनाउँदा सरकार चुकेको जनस्वास्थ्यविद्हरू बताउँछन्। यसले स्वास्थ्य प्रणालीको गम्भीर कमजोरी औंल्याएको उनीहरूको भनाइ छ।
सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी स्वास्थ्य प्रणालीमा योजना बनाएर काम गर्ने परिपाटी नभएकाले गम्भीर गल्ती भएको बताउँछन्। “ओमिक्रोन भेरियन्टको जोखिम रहेको वेला खोप अभियान स्थगित गर्नु कोरोना महामारीको क्षतिलाई नजरअन्दाज गर्नु हो,” उनी भन्छन्, “यो घटनाले हाम्रो काम गर्ने तौरतरीका कति परम्परागत छ भन्ने दर्शाउँछ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पूर्व प्रमुख डा. बाबुराम मरासिनी भने अति गम्भीर र संवेदनशील विषयमा ध्यान नदिंदा धेरै बालबालिका जोखिममा पर्न सक्ने बताउँछन्। केही दिन मात्रै खोप अभियान स्थगित हुँदा धेरै बालबालिका प्रभावित हुन सक्ने उनको भनाइ छ। “यो गम्भीर लापरवाही हो, यसमा प्रधानमन्त्रीले छानबिन गरेर कारबाही गर्नुपर्छ,” मरासिनी भन्छन्, “राज्यले यस्ता गम्भीर विषयमा खेलाँची गर्दा बालबालिकाको जीवन बर्बाद हुन्छ।”
विभाग भन्छ– दोष कोभ्याक्सको
स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख सागर दाहालका अनुसार, फाइजर खोपका लागि अन्य खोपमा प्रयोग भइरहेको ०.५ एमएलको सिरिन्ज प्रयोग हुँदैन।
दाहालका अनुसार, कोभ्याक्सले खोप दिंदा १३ पुसभन्दा अघि नै त्यसलाई चाहिने ०.३ एमएलको सिरिन्ज र घोलक पदार्थ पठाउने प्रतिबद्धता जनाएको थियो। सोही अनुसार, १३ पुसबाट खोप अभियान शुरू गर्ने घोषणा गरिएको थियो। तर, कोभ्याक्सले भनेकै समयमा सिरिन्ज र घोलक नपठाएकाले समस्या आएको दाहाल बताउँछन्। “अन्य खोपका लागि ५० लाख थान ०.५ एमएलको सिरिन्ज हामीसँग मौज्दात छ, तर फाइजरका लागि चाहिने सिरिन्ज उसैले पठाउनुपर्छ,” उनी भन्छन्।
कोभ्याक्सले १४ पुससम्म घोलक पठाउने जानकारी दिए पनि सिरिन्जका लागि अझै केही समय लाग्ने बताएको छ। फाइजर बाहेक नेपालमा प्रयोग भइरहेका अन्य खोपका लागि भने घोलक पदार्थ चाहिन्न। तर, फाइजर खोपका लागि खोप पातलो बनाउन सोडियम क्लोराइड भएको घोलक अनिवार्य प्रयोग गर्नुपर्छ।
उक्त घोलक प्रति भाइल १.८ मिलिलिटर अर्थात् ०.९ प्रतिशत हाल्नुपर्ने हुन्छ। यसले खोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्ने दाहाल बताउँछन्।
फाइजर खोप हालसम्म नेपाल सरकारले खरीद नगरेकाले ०.३ एमएलको सिरिन्ज नभएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासिया बताउँछन्।
हाल सरकारले ६० लाख डोज फाइजरको खोप खरीद गर्ने प्रक्रिया अगाडि बढाएको छ। उक्त खोपसँगै सिरिन्ज पनि आउनेछ। चौरासियाका अनुसार, सरकारले खरीद नै नगरेको खोपको सिरिन्ज स्टकमा राख्नु औचित्यहीन काम हो। “अनुदानमा खोप दिनेले तोकिएको समयमा सिरिन्ज नदिंदा समस्या देखिएको हो, यो चाँडै हल हुन्छ,” उनी भन्छन्।
कोभ्याक्सले छिटै सिरिन्ज पठाउने जानकारी दिए पनि मिति नतोकेको चौरासिया बताउँछन्। उनका अनुसार, उपलब्ध ०.५ एमएलको सिरिन्जले नै लगाउन मिल्ने सम्भावनाबारे प्राविधिकसँग छलफल भइरहेको छ। “फाइजरका लागि मिल्ने सिरिन्ज नेपालमा उपलब्ध नभएकाले हामीसँग भएको सिरिन्ज मिल्छ कि भनेर छलफल गर्नु र कोभ्याक्सलाई कुर्नु बाहेकको विकल्प छैन,” उनी भन्छन्, “त्यसैले खोप अभियान कहिलेबाट शुरू हुन्छ, अहिले नै भन्न सकिन्न।”
९ पुसमा अमेरिकाले कोभ्याक्स सुविधा मार्फत नेपाललाई ६ लाख ६४ हजार ५६० डोज डोज खोप दिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आठ जिल्लाका ११ देखि १७ वर्षका बालबालिकालाई दिने घोषणा गरेको थियो। उक्त खोप काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली, चितवन, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई दिने सरकारी तयारी थियो।
४ पुसबाट ५७ जिल्लामा दिइरहेको मोडर्ना खोप अभियान भने स्थगित नभएको मन्त्रालयले जनाएको छ।