कोभिड प्रभावित बालबालिकाका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ शुरू
डिशहोम मिडिया नेटवर्कको प्रायोजनमा कोभिड महामारीका क्रममा अभिभावक गुमाएर पढ्न समस्या भएका बालबालिकाको पढाइका लागि ‘भरोसा छात्रवृत्ति अभियान’ शुरू भएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अभियानको शुरूआत गरेका हुन्। महामन्त्री थापाका साथै डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य, फ्याक्ट नेपालका अध्यक्ष मनीष झा, सोही संस्थाका जिवी लामा लगायतले संयुक्त रूपमा ‘भरोसा छात्रवृत्ति अभियान’ को लोगो सार्वजनिक गरेका छन्।
अभियानको संयोजन फ्याक्ट नेपालले गर्नेछ। अभियानले कोभिड महामारीमा अभिभावक गुमाएका तथा आर्थिक अभावले पढ्न नपाएका करीब ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ।
छात्रवृत्तिका लागि कोभिड महामारीबाट प्रभावित भई विद्यालय जान नपाएका जुनसुकै उमेर समूह वा क्षेत्रका विद्यार्थीले डिशहोमको कार्यालयमा आवेदन दिन सक्नेछन्। त्यस्ता विद्यार्थीलाई डिशहोम नेटवर्क मार्फत छात्रवृत्ति उपलब्ध गराइनेछ। छात्रवृत्ति विद्यालयको मागको आधारमा मासिक बढीमा पाँच हजार उपलब्ध गराउने कम्पनीले जनाएको छ।