क्रिकेट खेलाडीमाथिको कारबाही फिर्ता लिन वैकल्पिक युवा सङ्गठनको माग
वैकल्पिक युवा सङ्गठनले नेपाल क्रिकेट संघ (क्यान)मा भएको अनियमितता र खेलाडीमाथि भएको कारवाहीको बारेमा ज्ञापनपत्र बुझाएको छ।
सङ्गठनका संयोजक शिशिर बञ्जारा, खेलकुद विभाग प्रमुख प्रभाष बस्न्यात र केन्द्रीय सदस्य युजन राजभण्डारीले क्यानको कार्यालय पुगेर आइतबार ज्ञापनपत्र बुझाएका हुन्।
क्यानले खेलाडीको आवाज सम्बोधन गर्नुको सट्टा बेथिति विरुद्ध आवाज उठाइरहेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, बलर सोमपाल कामी र कमल सिंह ऐरीलाई राष्ट्रिय टीमबाट बर्खास्त गर्नु खेदजनक भएको संयोजक बञ्जाराले बताए।
खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘हामी उक्त गैरजिम्मेवार कदमको घोर भर्त्सना गर्दछौं। क्यानलाई आफ्नो गलत निर्णय तुरुन्त सच्याएर खेलाडीहरूलाई पुनर्बहाली गर्दै माफी माग्न माग गर्दछौं।’
नेपाल क्रिकेट संघमा कर्मचारी भर्ना, छनोट, खेलाडीको वर्गीकरण, प्रायोजित जर्सी, लाभांश लगायत माग राखेर खेलाडीहरूले गरेको ध्यानाकर्षणमा सङ्गठनले सहमति जनाएको छ।