महाधिवेशनअघि माओवादीले पनि बढायो पदाधिकारी
नेकपा (माओवादी केन्द्र)ले पनि महाधिवेशन शुरू हुनु केही समयअघि पदाधिकारीको सङ्ख्या बढाएको छ।
माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज बिहान बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो। अब माओवादीमा १५ पदाधिकारी हुनेछन्।
माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ। यसअघि माओवादीमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था थिए।
यससँगै माओवादी केन्द्रीय समितिले बैठकले राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ। यसअघि शनिबार बसेको स्थायी समितिले बैठकले महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव पारित गरेको थियो।
माओवादीको राष्ट्रिय महाधिवेशन आज अपराह्न ३ बजे काठमाडौंको प्रज्ञा-भवनमा उद्घाटन हुने कार्यक्रम रहेको छ।
उद्घाटन समारोहमा सबै दलका नेतालाई निम्ता गरिएको छ। यसअघि राष्ट्रिय सम्मेलनमा कसैलाई पनि निम्ता गरिएको थिएन।