माओवादीको महाधिवेशन आज, सबै दललाई निम्तो
नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आज शुरू हुँदै छ। उद्घाटन समारोहमा सबै दललाई निम्तो दिएको छ।
यसअघि माओवादीले राष्ट्रिय सम्मेलन भनेको थियो। आज बिहान बसेको माओवादी केन्द्रीय समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई राष्ट्रिय महाधिवेशनमा परिणत गरेको हो।
राष्ट्रिय महाधिवेशनमा परिणत गरेपछि माओवादीले उद्घाटन समारोहमा सबै दललाई निम्तो पठाएको छ। यसअघि राष्ट्रिय सम्मेलनमा भने कसैलाई नबोलाउने निर्णय गरेको थियो।
दिउँसो १ बजे उद्घाटन हुने तय भएको राष्ट्रिय महाधिवेशन अब अपराह्न ३ बजे उद्घाटन हुने भएको छ। महाधिवेशनमा रूपान्तरण गरेपछि तयारीमा केही फेरबदल भएकाले उद्घाटन समारोह केही पछि सरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।
उद्घाटन समारोहमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपा सहित ११ दललाई आजै बिहान निम्तो पठाइएको छ।
अब माओवादीको राष्ट्रिय महाधिवेशनले नेतृत्व पनि चयन गर्नेछ।