म सबैको सभापति हुँ, सबैलाई समेटेर काम गर्छु : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटेर काम गर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आजैका मितिबाट सबैलाई समेटेर लग्ने बताए। देउवाले भने, “म सबैको सभापति हुँ। सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु।”
चुनावमा भएको हारजितलाई बिर्सेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि सबैको भावनाको कदर गर्दै काम गर्ने उनले प्रतिबद्धता जनाए।
कांग्रेसले वडादेखि केन्द्रसम्म लोकतान्त्रिक अभ्यास गरेको उनको भनाइ थियो। देउवाले भने, “‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ।”
महाधिवेशनमा भएका सबै तीतामीठा कुरा बिर्सेर पार्टीलाई सुदृढ बनाउनुपर्ने देउवाले बताए। अब तीनै तहका निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
“अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनाव हाम्रा अगाडि छन्,” देउवाले भने, “ती चुनावमा हामीले जित्नुपर्नेछ, कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ।”
उनले वडादेखि केन्द्रसम्म कांग्रेसले समावेशिताको अभ्यास गरेको बताए। सबै तहमा सबैको प्रतिनिधित्व भएको देउवाको भनाइ थियो।
कांग्रेसको २४-२७ मंसीरमा सम्पन्न १४औं महाधिवेशनबाट १३४ जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस पटक कांग्रेसले सबैको प्रतिनिधित्व गर्न विभिन्न क्लस्टरमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरेको थियो।