यसरी छनोट हुँदै छन् माओवादीका १५ सय प्रतिनिधि
नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि तय गरेको छ।
पहिलो राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए। कुन क्षेत्रबाट कति प्रतिनिधि सहभागी गराउने तोकिएको उनले जानकारी दिए।
सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेशबाट ८०३ प्रतिनिधिको सहभागिता रहनेछ।
यस बाहेक सशस्त्र द्वन्द्वका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्व लडाकूका तर्फबाट पाँच प्रतिशत अर्थात् ७३ जना प्रतिनिधि मनोनीत गरिने माओवादीले जनाएको छ।
प्रदेशबाट सहभागी हुने प्रतिनिधिमा सबैभन्दा बढी बागमतीबाट छन्। बागमती प्रदेशबाट १२८ प्रतिनिधि सहभागी हुने जनाइएको छ।
यसै गरी, प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७ र सुदूरपश्चिमबाट ८४ प्रतिनिधिले राष्ट्रिय सम्मेलनमा मतदान गर्न पाउनेछन्। माओवादीले सम्पर्क समन्वय प्रदेशबाट ४३, उपत्यका विशेष प्रदेशबाट ४२ र प्रवास प्रदेश समितिबाट ३४ प्रतिनिधि सहभागी हुने व्यवस्था गरेको छ।
माओवादीको राष्ट्रिय सम्मेलन ११–१३ पुसमा काठमाडौंमा हुने तय भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा वैचारिक प्रतिवेदन पेश गर्ने भएका छन्। माओवादीको राष्ट्रिय सम्मेलनले नेतृत्व पनि चयन गर्नेछ।