मिलन पाण्डे विवेकशील साझाबाट निष्कासित
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको छ।
विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संयोजक पाण्डेलाई साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको हो। पाण्डेलाई मंगलबारबाटै लागू हुने गरी निष्कासन गरिएको विवेकशील साझाका अध्यक्ष मिश्रले जनाएका छन्।
विवेकशील साझाको निर्णयमा भनिएको छ, “पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।”
अध्यक्ष मिश्रले पाण्डेलाई पत्र पठाएर निष्कासन गरिएको जनाएका छन्। यसअघि पाण्डेलाई अध्यक्ष मिश्रले स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ पनि ढिलो गरी दिएको जनाएका छन्।
“तपाईंको स्पष्टीकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ,” मिश्रले पठाएको पत्रमा भनिएको छ, “तपाईंले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणी सहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।”
पाण्डेलाई पार्टीबाट निष्कासन गरिएको जनाउँदै अब उप्रान्त पार्टीको नाम प्रयोग गरेमा कानूनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ। अध्यक्ष मिश्रले पठाएको पत्रमा भनिएको छ, “तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानून बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।”