पाण्डे समूहको विवेकशील साझा सुदृढीकरण अभियान घोषणा
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरेको छ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहसँगको विवाद उत्कर्षमा पुगेकै वेला पाण्डे समूहले पार्टी सुदृढीकरण अभियान नाम दिएर २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो। अभियानले ९० दिनभित्र राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
पाण्डेको नेतृत्वमा रहेको अभियानले विवेकशील साझा पार्टीको सुदृढीकरण र पुनर्गठन गर्ने जनाइएको छ।
अभियानमा प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल, युवा सङ्गठनका महासचिव सरोज गौतम, सचिव अमित पाठक र रवीन्द्र उपाध्याय लगायत सहभागी हुने विज्ञप्ति मार्फत जनाइएको छ।
पार्टीको १३० सदस्यीय केन्द्रीय समितिलाई यथावत् राख्दै ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ को शुरूआत गरिएको पाण्डे समूहका प्रवक्ता हरिप्रसाद भट्टले जनाएका छन्।
अभियानले वैकल्पिक राजनीतिको लिगेसीलाई निरन्तरता दिने र पार्टीलाई वैचारिक तथा साङ्गठनिक रूपमा सशक्त बनाउने दाबी गरिएको छ।
५ पुसमा मात्रै रवीन्द्र मिश्र समूहले सोधेको स्पष्टीकरणको जवाफ दिंदै पाण्डेले राजतन्त्र नमान्ने र धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न नसक्ने बताएका थिए।